१३‍औँ दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करण आजदेखि, तयारी भव्य

१३‍औँ दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करण आजदेखि, तयारी भव्य

नेपालबाट ३५ वर्ष अगाडि सुरु भएको दक्षिण एशियाली राष्ट्रहरूको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको १३औँ संस्करण आइतवार नेपालमा सुरु हुँदैछ।

काठमाण्डूको दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियाली खेलकुद (साग) प्रारम्भ भएको घोषणा गरेपछि नेपाली खेलकुदले नयाँ इतिहास रच्नेछ।

सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक झन्डै सात हजार खेलकर्मी सहभागी हुने साग नेपालले गर्न लागेको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो।

मूल आयोजक समितिका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन अगाडि आयोजित पत्रकार सम्मेलनमा भने, “सागको यो संस्करणलाई हामी विश्व खेलकुदले स्मरण गर्ने गरी भव्यरुपमा आयोजना गर्दैछौँ।”

सन् १९८४ मा पहिलो र सन् १९९९ मा आठौँ साग आयोजन गरिसकेको नेपालले तेस्रोपटक क्षेत्रीय खेलकुदको आयोजना गर्न लागेको हो।

खेल बढ्यो, खेलाडी बढे

पहिलो संस्करणमा पाँच खेल समावेश गरिएको दशरथ रङ्गशालाबाट सुरु भएको प्रतियोगिता फेरि रङ्गशालामा फर्किदा खेल सङ्ख्या २६ पुगेको छ भने पोखरा र जनकपुरसम्म प्रतियोगिता बिस्तार भएको छ।

सदस्य सचिव सिलवाल भन्छन्, “यसले दक्षिण एशियाको एकतालाई अझ मजबुत बनाउने छ।”

१३औँ साग प्राविधिक समितिका अनुसार सात राष्ट्रका कुल २,७१५ खेलाडीहरू यसपटक सहभागी छन्।

दुई हजारभन्दा बढी निर्णायकहरू संलग्न हुने खेलकुदका लागि सातै राष्ट्रका पदाधिकारीहरू नेपालमा आइसकेका छन्।

प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ काश्य गरी १,११५ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

आयोजक नेपालले सबैभन्दा बढी ५९६ खेलाडीका साथ सबै खेलमा सहभागिता जनाएको छ।

भव्य उद्घाटन

आइतवार हुने उद्घाटनको साक्षी बन्न सातवटै देशका उच्चपदस्थ पदाधिकारीहरू निम्त्याइएको आयोजकले जनाएको छ।

प्रतिस्पर्धाका निम्ति काठमान्डू उपत्यका, पोखरा र जनकपुरमा गरी २९ खेलस्थल बनाइएको छ। जसमा २०७२ सालको भूकम्पपछि भत्किएको काठमान्डू र पोखराको रङ्गशाला पुनर्निर्माण गरिएको छ।

ललितपुरको सातदोबाटोमा २५ मिटरको नयाँ पौडी पोखरी बनाइएको र अन्य खेलस्थलहरू मर्मत गरिएको १३औँ साग खेलस्थल व्यवस्थापन समितिले जनाएको छ।

तीन घण्टा लामो समारोह

उद्घाटन समारोह ३ घण्टा १४ मिनेटको हुने भनिएको छ। उद्घाटन समारोहको भव्यताबाट आयोजकको स्तर मापन गरिने हुनाले यसलाई स्तरीय बनाउने प्रयास गरेको अधिकारीहरूले जनाएका छन्।

उद्घाटन समारोहमा १५ हजार जनाको उपस्थितिमा विभिन्न कार्यक्रम प्रस्तुत हुनेछ।

आमा बनेका पुराना चर्चित खेलाडीको पुनरागमन

मूल आयोजक समितिका सचिव कुलबहादुर थापा भन्छन्, “नेपालको कला-संस्कृती रङ्गशालामा झल्किनेछ। उच्चप्रविधि पनि प्रयोग गरेका छौँ।”

उद्घाटन समारोहका लागि केही दिन अगाडि भएको अभ्यासले त्यसको छनक दिएको थापा बताउँछन्।

चुनौतीबीचको आयोजन

सागको मिति दुईपटक सारिए पनि अन्तिम समयसम्म पनि आयोजक पूर्वाधार निर्माणमा नै केन्द्रित हुँदा प्रतियोगिता आयोजनालाई लिएर प्रश्न उठाइएको थियो।

तीन वर्ष १० महिना नै आयोजनाको जिम्मा लिएको नेपालले भौतिक पूर्वाधार निर्माण निकै ढिलो थालेको थियो।

जसले गर्दा उद्घाटनको अघिल्लो दिनसम्म पनि रङ्गशालामा निर्माणको काम चलिरहेको थियो।

कतिपय खेलस्थलमा निर्माण कार्य अझै जारी नै देखिन्छ। खेलाडीहरूको अभ्यासमा त्यसले असर परेको छ।

पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सागमार्फत नेपालले यस अवधिमा आफूले गरेको क्षमता बृद्धिको झलक देखाउने प्रमुख चुनौती रहेको ठानिन्छ।

कतिपयको विचारमा साग आयोजनाको सफलता वा असफलताले अर्को महिनादेखि सुरु हुने भ्रमण वर्ष २०२० लाई समेत असर पार्न सक्छ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply